बुध बार, मिथुन र कन्या राशि, अश्लेषा, ज्येष्ठा र रेवती नक्षत्रको स्वामी बुध हो । यस ग्रहलाई द्विस्वभाव (नपुंसक) ग्रहका रूपमा लिइन्छ र यस ग्रहले नैसर्गिक रूपमा शुभफल नै प्रदान गर्दछ भन्ने भनाइ छ । यस ग्रहको महादशामा समुचित आहारविहारको प्राप्ति हुन्छ । यस अवधिमा भ्रमण, पर्यटन, सवारीसाधन, सन्तान, धन, प्रतिष्ठा, वस्त्राभूषण, घरघडेरी, सहज दाम्पत्यसुख, सत्संगति, यशबृद्धि, इच्छितवस्तुको प्राप्ति आदि प्राप्त हुन्छ । कुण्डलीमा बुध ग्रहको महादशाको समय वा भद्रिका योगिनीको दशावधि छ भने जसले पनि बुध ग्रहको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंको जन्मकुण्डलीमा बुध ग्रहको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ :-

१ – घरको आँगनमा तुलसीको मठ बनाई रोप्नु पर्दछ, निरन्तर त्यसको देखभाल गर्नुपर्छ र बुधबारका दिन तुलसीपत्र सेवन गर्नुपर्छ ।

२ – बुधवारका दिन हरियो रङको चुरा भगवती दुर्गाको मन्दिरमा वा तेस्रो लिङ्गी (नपुंसक वा हिजडा) लाई दान गर्नुपर्दछ ।

३ – प्रत्येक हप्ताको बुधबारका दिन हरियो सागसब्जी वा चारो (घाँस आदि) गाईलाई खान दिनुपर्छ ।

४ – बुधवारका दिन भगवान् गणेशको मन्दिरमा गई मुँगको लड्डु चढाउनु पर्दछ र प्रसादका रूपमा केटाकेटीलाई बाँड्नुपर्छ ।

५ – घरमा धुजाधुजा भएको वा च्यातिएको कुनै पनि पुस्तक राख्नु हुँदैन ।

६ – घरको फूलबारीमा वा गमलामा काँडा भएका बृक्षवनस्पति वा झाँग राख्नु हुँदैन । कुनै फल फल्ने रुख रोपी तिनको फेदमा सधैं सिञ्चन गर्नुपर्दछ ।

७ – घरमा सुँगा पालेमा पनि बुध ग्रह प्रसन्न हुने गर्दछन् ।

८ – बुध ग्रहको महादशा चलिरहेको छ भने बुध ग्रहको थप उर्जा प्राप्त गर्न दैनिक दुर्गा कवच वा नारायण कवचको पाठ गर्ने एवं भगवती दुर्गा वा बालगोपाल भगवान् श्रीकृष्णको आराधना गर्ने बानी विकसित गर्नु पर्दछ ।

९ – प्रत्येक बुधबारका दिन हरियो फलफूूल वा तरकारी अनाथालय, बृद्धाश्रम वा मठमन्दिरमा दान गर्नुपर्छ ।

१० – प्रत्येक वर्षको नौरथामा दुर्गासप्तशती चण्डीको नौ आवृत्ति पाठ गर्नु वा ब्राह्मणमार्फत गराउनु पर्दछ ।

११ – वर्षभरिका एकादशी, मङ्गलबार वा चतुर्थी तिथिको विधिवत् व्रत लिने गर्दा लाभ हुन्छ ।

१२ – दिनैपिच्छे गणेशअथर्वशीर्ष, दुर्गा सप्तशती, वा विष्णुसहस्त्रनाम स्तोत्रको पाठ वा श्रद्धाभक्तिपूर्वक गणेश, दुर्गा वा विष्णुको उपासना गर्दा पनि बुध ग्रह प्रसन्न हुने गर्दछन् ।

यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र बुध ग्रहको दुष्प्रभावलाई हटाउन सुरुमा बुधवारका दिन, बुधको नक्षत्र (आश्लेषा, ज्येष्ठा र रेवती) वा बुधको होरामा अवलम्बन गरेमा यस ग्रहको बढी राम्रो फल प्राप्त हुन्छ ।

बुध ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
बुध ग्रहको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-

वैदिक मन्त्र –
ॐ उद्बुध्यस्वाग्ने प्रति जागृहि त्वमिष्टापूर्ते स℧ सृजेथामयं च ।
अस्मिन्त्सधस्थे अध्युत्तरस्मिन् विश्वेदेवा यजमानश्च सीदत ।

पुराणोक्त बुध मन्त्र –
ॐ प्रियङ्गु कलिका श्यामं रूपेणाप्रतिमं बुधम् ।
सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ।

बुध गायत्री मन्त्र – ॐ सौम्यरूपाय विद्महे बाणेशाय धीमहि तन्नो बुध: प्रचोदयात् !

तन्त्रोक्त बुध मन्त्र – ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः

लघु बीज मन्त्र – ॐ बुं बुधाय नमः

बुध ग्रहलाई अर्घ्य दिने मन्त्र –
सौम्य सौम्यगुणोपेत रुपेणाप्रतिम बुध ।
चन्द्रपुत्रः गृहाणार्घ्यं प्रसीद शशिज शुभ ।।

बुध ग्रहको जाप संख्या – ८०००

बुध ग्रहको रत्न – हरियो रंगको पन्ना रत्न (३, ६ वा ७ क्यारेट) सुनको वा चाँदीको औंठीमा जडान गरी विधिपूर्वक दाहिने हातको कान्छी औंला वा काहिंली औंलामा धारण गरेमा शुभ फल प्राप्त हुन्छ, अनिष्ट फलको नाश वा न्यूनीकरण हुनेछ ।

बुध ग्रहको दानसामाग्री :– चिनी, हरियो फूल, हरियो अलैंची वा सुकुमेल, मुँगको दाल, काँसे भाँडो, पन्ना रत्न, सुन, हात्तीको दाँत, हरियो सागपात, हरियो लुगा ।

यन्त्र – बुध ग्रहको यन्त्रलाई चाँदीको पत्रमा लेख्न लगाएर वा भोजपत्रमा अष्टगन्धले लेखेर ताबिज बनाई विधिवत प्राणप्रतिष्ठा र पूजा गरी दाहिने हातको पाखुरामा धारण गर्दा शुभफल प्राप्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *