सूर्यलाई ग्रहसभाको राजा मानिन्छ । समस्त चराचर जगत् सूर्यद्वारा नै सञ्चालित छ । आइतवार, सिंह राशि, कृतिका, उत्तराफाल्गुनी र उत्तराषाढा नक्षत्रको स्वामी सूर्य हो । यस ग्रहलाई क्रूर ग्रहका रूपमा लिइन्छ, त्यसैले नैसर्गिक रूपमा सूर्यको महादशामा डरचिन्ता, व्याकुलता र ताप बढ्ने गर्दछ । मुद्दामामिला र प्रशासनिक समस्या, घरपरिवारमा झैझगडा र धननाशको सम्भावना समेत हुने गर्दछ । तर कुण्डलीको प्रभावअनुसार प्रत्येक व्यक्तिले सूर्यको शुभ वा अशुभ छुट्टै फल प्राप्त गर्दछ । भगवान् सूर्य समस्त संसारको शक्तिको स्रोत र हाम्रो प्राणशक्तिका आधार हुन् । सूर्यको महादशाको समय चल्दैछ वा पिङ्गला योगिनीको समय छ भने जसले पनि सूर्यको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंको जन्मकुण्डलीमा सूर्यको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ :-

१ – सूर्यलाई बलियो बनाउन जातकले प्रातःकालमा सूर्योदयको समयमा उठेर रातो फूल फुल्ने बोटबिरुवाको फेदमा पानीले सिञ्चन गर्दा लाभ हुन्छ ।

२ – बेलुका सुत्ने वेलामा तामाको पात्रमा शुद्ध जल ओछ्यानको सिराने भागमा राखी बिहान उठ्ने बितिक्कै बासी मुखमा उक्त पानी पिउने गर्दा पनि सूर्यको शुभप्रभाव प्राप्त हुन्छ ।

३ – तामाको बाला वा चुरा बनाएर दाहिने हातको नारीमा आइतबारका दिनदेखि धारण गरेमा पनि सूर्यको शुभ प्रभाव पाउन सकिन्छ ।

४ – आइतबारका दिन मध्याह्नकालमा कुनै पात्रमा गहुँ राखी रातो गाईलाई खान दिएमा पनि सूर्यको अशुभ प्रभावको नाश हुन्छ । गाईलाई खान दिएको कुनै पनि चिज खाली भुइँमा दिनु हुँदैन ।

५ – घरबाट कुनै महत्त्वपूर्ण कामका लागि बाहिरिंदा गुड वा कुनै गुलियो वस्तु आफूभन्दा ठूलाबडा वा मान्यजनको हातबाट लिई खाँदै निस्कनु राम्रो हुन्छ ।

६ – कुनै यज्ञ वा चाडपर्वमा रक्षासूत्र (रक्षाविधान, मोली आदि) बाँध्दा दाहिने हातमा छ फन्का बाँधेमा सूर्य सधैं प्रसन्न हुने गर्दछन् ।

७ – नित्य प्रातःस्नान गर्दा रातो चन्दन मिसाएको पानीले नुहाएमा सूर्यको प्रभाव राम्रो हुन्छ ।

८ – तपाईंको जीवनमा सूर्यको महादशा चलिरहेको छ भने सूर्य ग्रहको थप उर्जा प्राप्त गर्न दैनिक रुपमा पिताजीको आशीर्वाद प्राप्त गर्ने र प्रातःकालमा उदाउँदो सूर्यको दर्शन गर्ने बानी विकसित गर्नु पर्दछ ।

९ – दिनहुँ सूर्योदयको १ घटिका (२४ मिनेट) भित्र स्नानादिबाट निवृत्त भई मह वा चिनी मिसाएर तामाको पात्रमा शुद्धजल वा गङ्गाजल राखी सूर्यलाई अर्घ्य दिंदा लाभ हुन्छ ।

१० – सूर्य ग्रहको शान्तिका निमित्त केसरी वा रातो टीका लगाउँदा, सूर्य गायत्री, आदित्य हृदय स्तोत्रको पाठ गर्दा, सूर्य कवचको पाठ गर्दा र भगवान् विष्णुको नियमित पूजा आराधना गर्दा दुष्प्रभावहरू नष्ट हुन्छन् ।

११ – आइतबारका दिन अन्धाश्रम, बृद्धाश्रम वा अस्पतालमा गई पाकेको अन्न दान गर्नाले सूर्य भगवान् प्रसन्न हुनुहुन्छ ।

१२ – आइतबारका दिन रातो रङको गाईलाई सक्खर र पिठो खुवाउँदा पनि शुभ फल नै प्राप्त हुन्छ ।

यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र सूर्यलाई बलशाली बनाउन यी उपाय आइतबारको दिन, कृतिका, उत्तराफाल्गुनी वा उत्तराषाढा नक्षत्रमा सूर्यको होरामा अवलम्बन गर्न थालेमा अत्यधिक शुभ हुन्छ ।
सूर्य ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
सूर्यको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-

वेदोक्त मन्त्र  –
ॐ आकृष्णेन रजसा वर्तमानो निवेशयन्नमृतं मर्त्त्यञ्च ।
हिरण्ययेन सविता रथेना देवो याति भुवनानि पश्यन् ।

पुराणोक्त मन्त्र –
जपाकुसुमसङ्काशं काश्यपेयं महाद्युतिम् ।
तमोऽरिं सर्व पापघ्नं प्रणतोऽस्मि दिवाकरम् ।।

सूर्य गायत्री मन्त्र  – ॐ आदित्याय विद्महे प्रभाकराय धीमहि तन्नो सूर्यः प्रचोदयात् ।

तन्त्रोक्त बीज मन्त्र – ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः

लघु बीज मन्त्र – ॐ घृणि सूर्याय नमः

सूर्यार्घ्य मन्त्र –
एहि सूर्य सहस्रांशो तेजो राशि जगत्पते ।
अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकरः ।।

सूर्यको जाप संख्या  – ७०००

दान सामाग्रीहरू :– गहुँ, सक्खर (गुड), रातो कपडा, घिउ, सुन, माणिक्य रत्न, तामाको भाँडो, नरिवल, रक्तचन्दन, रातो फूल, मुसुरोको दाल र दक्षिणा ।

सूर्यरत्न – सूर्य ग्रहलाई बलशाली बनाउन माणिक्य रत्न ५ क्यारेटभन्दा माथि, तामा वा सुनको औंठी बनाई आइतबार सूर्योदयको समयमा भगवान् सूर्यको पूजा गरी दाहिने हातको काहिंली औंलामा धारण गर्नुपर्छ ।

सूर्य यन्त्र – सूर्यको यन्त्रलाई तामाको पत्र खोप्न लगाएर वा भोजपत्रमा अष्टगन्धले लेख्न लगाएर विधिपूर्वक प्राणप्रतिष्ठा गरी दाहिने हातको पाखुरामा शुभ समयमा धारण गरेमा शुभ फल प्राप्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *