सोमबार, कर्कट राशि, रोहिणी, हस्ता र श्रवण नक्षत्रको स्वामी चन्द्रमा हो । यस ग्रहलाई सौम्य ग्रहका रूपमा लिइन्छ, त्यसैले चन्द्रमाको प्राकृतिक फलअनुसार व्यक्तिले राज्य र पदाधिकार प्राप्त गर्दछ । चन्द्रमाको समयमा सज्जनहरुको सङ्गत हुन्छ, मन मनोरञ्जनमुखी हुन्छ, भावुकता र प्रेमको उदय हुन्छ, घरायसी खुसी र सुखसयलका लागि प्रयास गरिन्छन्, शत्रुमाथि विजय हुन्छ र मोटर, गाडी वाहनादिको प्रबन्ध हुन्छ । तपाईंको कुण्डलीमा चन्द्रमाको महादशाको समय वा मङ्गला योगिनीको दशावधि छ भने जसले पनि चन्द्रमाको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंको जन्मकुण्डलीमा चन्द्रमाको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ । त्यस्तै तपाईंको जन्मकुण्डलीमा चन्द्रमाको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ :-
१ – चन्द्रमाको शुभप्रभाव प्राप्त गर्न जुनेली रातमा (शुक्लपक्षको अष्टमीदेखि कृष्णपक्षको सप्तमीसम्म) राती चन्द्रप्रकाशमा हिंडडुल गर्ने र अबेरसम्म जागा रहने गर्ने बानीको विकास गर्नुपर्दछ । तर रातीको समयमा घरको छेउछाउमा मात्र घुमफिर गर्नुपर्छ, तर लामो दूरीको यात्रा वा भ्रमणमा रात्रीकालमा यात्रा नगरेको जाति हुन्छ ।
२ – तपाईं सुत्ने ओछ्यान घरको यस्तो ठाउँमा हुनुपर्छ, जहाँ चन्द्रमाको किरण पर्ने गर्दछ ।
३ – प्रदूषित र फोहोर तरल पदार्थको सङ्ग्रह घर र वरपरको क्षेत्रमा हुनुहुँदैन ।
४ – रोहिणी, हस्ता वा श्रवण नक्षत्र अथवा सोमबार वा पूर्णिमाका दिन परेको वर्षाको पानी सेतो काँचको बोतलमा भरी ओछ्यानको सिराने भागमा सधैं राख्ने व्यवस्था गरेमा पनि चन्द्रमाको दुष्प्रभाव शान्त हुन्छ ।
५ – वर्षमा एक पटक कुनै तीर्थस्थल वा तलाउ, सरोवर आदिमा गई स्नान गर्ने बानीको विकास गर्नुपर्दछ ।
६ – सोमवार र औंसी वा पूर्णिमाका दिन दूध, दही वा दुग्धजन्य पक्वान्नको सेवन गर्नुहुँदैन ।
७ – प्रत्येक दिन प्रातःकालमा सेतो फूल फुल्ने बोटबिरुवाको फेदमा शुद्ध जलले सिञ्चन गर्नु पर्दछ ।
८ – चन्द्र ग्रहको ऊर्जा प्राप्त गर्न दैनिक रुपमा माताजीको आशीर्वाद प्राप्त गर्ने र प्रातःकालमा भगवती लक्ष्मीको आराधना गर्ने बानी विकसित गर्नु पर्दछ ।
९ – प्रत्येक सोमबार भगवान् शिवको आराधना गरी प्रत्येक महिनाको पूर्णिमाका दिन कुनै सधवा स्त्रीलाई दही वा खीर खान दिएमा पनि लाभ हुन्छ ।
१० – सोमवारको व्रत लिएर मङ्गलबारका दिन बिहानै सेतो कपडा, चामल, सेतो पक्वान्न, दही, सेतो कपडा आदि सेतो पदार्थको दान गर्नुपर्छ ।
११ – प्रत्येक सोमबारका दिन शिवालयमा गई शिवलिङ्गमा पञ्चामृतले स्नान गर्नुपर्दछ ।
१२ – चन्द्रमाको शान्तिका निमित्त पञ्चगव्य, बेलगिरी, गजमद, शंख, सिपी, सेतो चन्दन, स्फटिक आदि जलमा राखेर त्यस जलले स्नान गर्दा शुभ फल प्राप्त हुन्छ ।
१३ – भगवान् शिवजीको पूजा, आराधना, व्रत, तीर्थका माध्यमबाट पनि चन्द्रमाको अनीष्ट निवारण हुन्छ ।
१४ – पूर्णिमाको नियमित व्रत वा प्रदोषको व्रतबाट पनि चन्द्रमाको दुष्प्रभावलाई कम गरी शुभ प्रभावलाई बढाउन सकिन्छ ।
यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र चन्द्रमाको दुष्प्रभाव निवारणका निमित्त गरिने उपाय सर्वप्रथम सोमवार का दिन, चन्द्रमाका नक्षत्र (रोहिणी, हस्ता र श्रवण) वा चन्द्रमाको होरामा अवलम्बन गरेमा बढी शुभफल प्राप्त हुन्छ ।
चन्द्रमा ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
चन्द्रमाको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-
मुख्यदेवता – भगवान् शङ्कर
वैदिक मंत्र – ॐइमं देवा असपत्न℧ सुवध्वं महते क्षत्राय महते ज्यैष्ठाय महते जानराज्यायेन्द्रस्येन्द्रियाय ।
इमम्ममुष्य पुत्रम्ममुष्यै पुत्रमस्यै विश वोऽमी राजा सोमोऽस्माकं ब्राह्मणाना ℧ राजा ।
पुराणोक्त मन्त्र –
ॐ दधिशङ्खतुषाराभं क्षीरोदार्णव सम्भवम् ।
नमामि शशिनं सोमं शम्भोर्मुकुटभूषणम् ।।
चन्द्र गायत्री मन्त्र – ॐ अमृताङ्गाय विद्महे कला रूपाय धीमहि तन्नो सोमः प्रचोदयात् ।
तन्त्रोक्त बीज मन्त्र – ॐ श्रां श्रीं श्रौं सः चन्द्रमसे नमः ।
लघु बीज मन्त्र – ॐ सों सोमाय नमः ।
चन्द्रमालाई अर्घ्य दिने मन्त्र –
क्षीरोदार्णवसम्भूत अत्रिगोत्रसमुद्भव ।
गृहाणार्घ्यं शशांकेदं रोहिण्या सहितो मम ।।
चन्द्रमाको जापको संख्या ११०००
चन्द्र रत्न – चन्द्र ग्रहको अशुभता हटाउन ४ क्यारेट मोती रत्न चाँदीको औंठी बनाई दाहिने हातको कान्छी औंलामा धारण गर्ने प्रचलन छ ।।
चन्द्रमाको दानसामाग्री – घिउ, सेतो कपडा, सुन, मोती, शङ्ख, दही, चाँदी, श्रीखण्ड, कपूर, चामल, जनै, सेतो चामर, सेतो साँढे
चन्द्र यन्त्र – चन्द्रमाको शुभफल प्राप्त गर्न चन्द्रमाको होरामा चाँदीको पत्रमा चन्द्र यन्त्र खोप्न लगाई अथवा अष्टगन्धले भोजपत्रमा लेखेर विधिवत् प्राणप्रतिष्ठा र पूजा गरी घाँटीमा वा दाहिने हातको पाखुरामा धारण गर्नुपर्छ ।