गरमस्वभाव, अग्नितत्त्व, भ्रमणप्रिय र निर्जल लग्न हो, सिंह लग्न। सिंह लग्नका जातक अत्यन्त तेजस्वी र आत्मविश्वासी हुने गर्दछन्। अग्नि झैं नै ऊर्जावान हुने गर्दछन्, कुनै पनि कार्यलाई गर्न पछि पर्दैनन्। जुन काम प्रारम्भ गर्दछन् त्यसलाई पूरा गरी छाडछन्। नीति बनाउन र त्यसलाई अमल गर्न यिनीहरू मन पराउँछन्। अनुशासनहीनता यिनीहरूलाई मन पर्दैन। यिनीहरूमा आफूले निर्माण गरेको विधि, नियम र अनुशासनलाई राम्ररी पालना गर्ने र अन्यलाई पनि पालना गर्न लगाउने बानी हुन्छ। आफ्नो मानसम्मान यिनीहरूलाई धेरै मन पर्छ। यदि यस्ता मानिसले कुनै वाचा गरे भने पूर्णरूपले पालना पनि गर्दछन्। यस्ता व्यक्ति सबैसँग घुलमिल गर्न पनि सक्दैनन् र अरुले यिनलाई उस्तो मन पनि पराउँदैनन्। यिनीहरू आफ्नो स्तरअनुकूलका व्यक्तिहरूसँग बसउठ गर्न मन पराउँछन्।
यो लग्न स्थिर लग्न भएकाले यिनीहरूको स्वभाव र व्यवहारमा पनि स्थिरता नै हुने गर्दछ। जुनसुकै कामलाई प्रारम्भ गरेपछि त्यसमा अन्त्यसम्म जोडिनु यिनीहरूको विशेषता हो।यस्ता व्यक्तिले अरु व्यक्तिसित जस्तो व्यवहार गर्दछन्, त्यस्तै व्यवहारको अपेक्षा आफ्ना लागि पनि होस् भन्ने चाहन्छन् र यस्ता नहुँदा रुखो व्यवहार देखाउन पनि पछि पर्दैनन्। सिंह लग्नको मालिक सूर्य हो, त्यसैले यस लग्नका व्यक्ति राजसी स्वभावका हुने गर्दछन्। सुखसुविधायुक्त जीवन मन पर्छ। अर्कालाई काम गर्न लगाउनु यिनीहरूलाई मन पर्छ, तर आफूचाहिं काम गर्दैनन्। राम्रै भए पनि अरुले गरेको काम यिनीहरूलाई मन पर्दैन।